सकियो एमाले पोलिटब्युरो बैठक,बार्षिक कार्ययोजनालाई सचिवालयले अन्तिम रुप दिने
काठमाडौं।सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक सम्पन्न भएको छ।मंगलबार सुरु भएर बैठक दुई दिनसम्म चलेको सो बैठक समसामयिक विभिन्न १४ बुंदे प्रस्ताव पारित गर्दै बुधबार सम्पन्न भएको हो।बैठकले पार्टीको वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको एमालेले जनाएको छ।

पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्ब्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि छलफल गर्दै सुझावसहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। वार्षिक कार्ययोजना ५१ जना पोलिट्ब्युरो सदस्यहरूले धारणा राखेका थिए।
उनीहरूले वार्षिक कार्ययोजनाको कार्यान्वयनमा जोड दिएको गौतमले बताए।एमाले महासचिव पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा पार्टी संरचनालाई बलियो बनाउन पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना खडा गर्ने उल्लेख गरेका छन्।
त्यस्तै पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकनलगायतका विषय प्रतिवेदनमा समावेश गरेका छन्।
बैठकको समापन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने भन्दै अराजक गतिविधि गर्नेलाई पार्टी छाड्न सुझाव दिएका थिए।
ओलीले एमाले कुनै ढल नभएकाले कि राजनीति गर्न कि रमाइलो गर्न सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले बताए। आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने भन्दै अहिलेको अवस्थामा कुनै वामपन्थी एकता सम्भव नरहेको स्पष्ट पारेको उनले बताए।

