थामे बाढी पीडितलाई ५ लाख आर्थिक सहयोग गर्ने थुलुङ दुधकोशीको निर्णय

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष अशिम राईको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ थामेमा आएको बाढीबाट पीडित परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।
गत साउन ३२ गते थामे खोलामा आएको बाढीले थामेमा १५ घर पूर्णमा पूर्ण क्षति र झण्डै ३ दर्जन घरमा आंशिक क्षति पुर्याएको थियो।
प्राकृतिक बिपत्तिका कारण पीडित परिवारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले थामे बाढी पीडितलाई आर्थिक सहयोग गर्नु
मानवीय धर्म भएकाले सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अशिम राईले बताउनुभयो।
यस्तै सोही बैठकले थुलुङ दुधकोशी गाउँपालिकाका कर्मचारीहरूको मुख्य नतिजामा आधारित कार्य् विवरण प्रतिवेदन, २०८१ तर्जुमा भई स्वीकृत गरेको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न मिति २०८१/०४/ २९ गतेको कार्यपालिकाको निर्णयानुसार गाउँपालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्न दीप राईबीच कार्यसम्पादन सम्झौता भइसकेको छ ।
सबै विभाग/महाशाखा/शाखा तथा वडाबाट थप प्रभावकारी सेवा प्रवाह गर्न र कर्मचारीहरूलाई थप जिम्मेवार बनाउन शाखा प्रमुख लगायत अन्य कर्मचारी र प्रशासकीय अधिकृतबीचको कार्य सम्पादन सम्झौता गर्न गाउँपालिका अध्यक्षको निर्देशन दिनुभएको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले बताउँनुभयो ।

