राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई एमाले नेताहरुको आग्रह



काठमाडौं।नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न आग्रह गरेका हुन् ।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी साउन १ देखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिन पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका हुन् ।

काठमाडौंका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनःविचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताए । आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिएको उनले बताए ।

‘यो ज्येष्ठ नागरिकहरूको पीडाको विषय भयो । यसलाई व्यावहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो,’ श्रेष्ठले भने, ‘गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनै पनि हालतमा व्यावहारिक रूपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो ।’

उनले राष्ट्रिय परिचयपत्र प्रभावकारी र सहज रूपमा जनताले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्