सिराहामा पूर्व गाविस अध्यक्षलाई लक्षित गरी बम प्रहार
जनकपुरधाम ३ असार । सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवमाथि लक्षित गरी बम प्रहार भएको छ। पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो। औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ।
उनको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्थानीय महेश यादवले जानकारी दिए। महेशका अनुसार बम विस्फोटले घरमा क्षति पुर्याएको छैन। छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन।
बम विस्फोटपछि यादवको घरमा सर्वसधारणको ठूलो भिड लागेको थियो। प्रहरीले पनि बम कसले प्रहार गरेको विषयमा केही खुल्न नसकेका जनाएको छ। प्रहरी चौकी औरहीले घटना विषयमा छानबिन सुरु गरिएको बताएको छ।


