कोरोना : १७ हजार ६१ संक्रमित, १० हजार ३ सय २८ डिस्चार्ज
काठमाडौं, ३० असार । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यस्तै ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
उता कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा। तिवारीको भनाई छ ।

