स्वास्थ्य क्षेत्रमा पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष चौधरीको बिशेष प्राथमिकता



वीरगञ्ज।पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा दिनेश कुमार चौधरी निर्बाचित भएयता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउन थालेको छ।

नेपाली कांग्रेस पर्साका सचिव समेत रहेका चौधरीले करोडौं मूल्यको आफ्नै निजी जग्गा दान दिएर अस्पताल निर्माण गर्नेदेखि लागुपदार्थ दुर्ब्यसनबारे विद्यालयमा सचेतना कक्षासम्म सञ्चालन हुने गरेको स्थानीयको भनाई छ।

चौधरीले अध्यक्षमा निर्वाचित भए लगत्तै गाउँपालिकाको निचुटारमा भवन सहितको आफ्नै चार कठ्ठा जग्गा दिएर तिलगंगा आँखा केन्द्रको शाखा सञ्चालनमा ल्याएका छन् ।दुई जना टेक्निसिएनसहित हाल आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको सो शाखाको उद्घाटन वरिष्ठ आँखा रोग विशेषज्ञ एबम् तिलगंगा आँखा केन्द्रका संस्थापक डा.सन्दूक रुइतले गरेका थिए।

स्थापना भए यता सो शाखाले दैनिक ३०/४० जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै शिबिर सञ्चालन गरी मधेस प्रदेश र छिमेकी मुलुक भारतका गरि झण्डै १ हजार बढी जनाको नि:शुल्क आँखाको शल्यक्रिया गरिसकेको छ।शाखाद्वारा सञ्चालित आँखा शिबिरमा शल्यक्रिया गर्न आउनेहरुका लागि खाने र बस्ने ब्यबस्था समेत गाउँपालिकाले नै गरेको अध्यक्ष चौधरीले बताए।आवश्यकताका आधारमा आँखा केन्द्रको हेटौंडा शाखाबाट विशेषज्ञ चिकित्सकले समेत सो शाखामा सेवा प्रदान गर्ने गरेका छन्।

गाउँपालिकामा निर्माणाधीन १० शैय्याको अस्पतालको काम समेत अन्तिम चरणमा पुगेको छ।संघीय सरकारको १० करोड रुपैयाँमा निर्माण सम्पन्न हुन लागेको यो अस्पतालको उद्घाटन आगामी असोजमा गर्ने तयारी भइ रहेको गाउँपालिका अध्यक्ष चौधरीले रहस्य खबरलाई जानकारी दिए।स्थानीय तहमा निर्मित १० शैय्याको अस्पताल उद्घाटनको चरणमा पुर्‍याउने पटेर्वा सुनौली सम्भवत मधेस प्रदेशकै पहिलो गाउँपालिका हो।उद्घाटन सम्पन्न भएपछि एमबीबीएस डाक्टर सहितको सेवा प्रदान गरिने अध्यक्ष चौधरीको भनाई छ।

यतिमात्र होइन पाँच वटा वडा भएको गाउँपालिकाका तीन वटा बर्थिङ सेण्टर पनि सञ्चालनमा ल्याईएको छ।तीन वटै बर्थिङ सेण्टरमा ल्याबसहितको सुबिधा छ।यसबाट गर्भवती र सुत्केरी हुन लागेका स्थानीय महिलाहरु निकै नै लाभान्वित भएको स्थानीयको भनाई छ।

गाउँपालिकाले पछिल्लो समय स्यानेटरी प्याडको उत्पादन समेत आफैंले गर्ने तयारी गरेको छ।महिनावारी हुँदा विद्यालय तहमा अध्ययनरत छात्राहरुलाई बितरण गरिंदै आएको स्यानेटरी प्याड खरिद गर्दा लाखौं रकम खर्च हुने भएका कारण गाउँपालिकामै उत्पादन गर्न मेसिनसहित आवश्यक कच्चापदार्थको खरिद गरिसकिएको अध्यक्ष चौधरीले बताए।गाउँपालिकाको ब्राण्ड र लोगो अंकित प्याड उत्पादन गर्ने तयारी गरेका छौँ,अध्यक्ष चौधरीले भने-‘आवश्यक गाउँपालिका भित्रै खपत हुन्छ,बढ्ता भएको उत्पादन अन्यत्र बिक्रि बितरण गर्ने तयारी गरेका छौं।’यसबाट रोजगारीको सिर्जना हुने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्