भारतको लोकसभा चुनावको मतगणना सम्पन्न, भाजपाले ल्याएन बहुमत
काठमाडौं।भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सकिएको हो।

यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाएर चुनावमा होमिएका थिए। हिन्दुस्तान टाइम्सका अनुसार ५४३ क्षेत्रको नतिजा आउँदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।
अघिल्लो निर्वाचनमा एनडिएले ३५२ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो। यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ।यो संख्या सरकार गठनका लागि पर्याप्त होइन।भारतमा एकल सरकार गठनका लागि बहुमत अर्थात २७२ सिटमा बिजय हासिल गर्न जरुरी छ। इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो।
यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो।
भारतको चुनाव आयोगका अनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन्।
आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

