होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ
कास्की। पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा सोही विद्यालयका शिक्षक रूपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनि लठ्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उक्त कसूरमा १ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।(सांकेतिक तस्बिर)

