तोकिएकै समयमा निर्बाचन सम्पन्न हुने वातावरण बनाउन पत्रकार सम्बद्ध ६ संगठनको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न छ संघठनले माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

बिज्ञप्तिमा गणेश वस्नेत(अध्यक्ष,प्रेस चौतारी नेपाल),विष्णु सापकोटा’जुगल'(अध्यक्ष,प्रेस सेन्टर नेपाल),विश्वमणि सुवेदी,(अध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल),श्यामलाल पोखरेल(अध्यक्ष,प्रगतिशील पत्रकार संघ नेपाल) शेरवहादुर विश्वकर्मा(अध्यक्ष,जनपत्रकार संगठन नेपाल) र कमल वुढा (संयोजक,क्रान्तिकारी प्रेस संगठन)को हस्ताक्षर छ।
उनीहरूले महासंघ नेतृत्वलाई छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
महासंघका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ । “नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको तीनवर्षे कार्यकाल २०८० चैतमा सकिइसके पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरणको प्रक्रियामा अलमल देखिएको छ । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

