सिर्डस नेपाल र यूएम.एन धादिङद्धारा गल्छी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग



लावण फुयल
असार २९, धादिङ
धादिङको गल्छी गाउँपालिकाले सञ्चालन गर्दै आएको क्वारेन्टाइन तथा आइसोलेसन कक्षलाई थप व्यवस्थित बनाउनको लागि चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिर्डस्) नेपाल र यूनाइटेड मिसन टू नेपाल धादिङले संयुक्त रुपमा आइसोलेसन वेडसहित अन्य अत्याआवश्यकीय स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वागेश्वरी मा वि क्वारेन्टाइन केन्द्रमा एक समारोहकावीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । आठवटा आइसोलेसन सर्जिकल बेड, सेनिटाइजर, मास्क, थर्मलगन, पानी तताउने कित्ली, पानी चीसो तातो बनाउने विद्युतीय उपकरणहरु, डिजिटल थर्मोमिटर तथा पिपिइ सेट गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठलाई हस्तान्तरण गर्दै धादिङ निर्वाचन क्षेत्र नं १ का संघीय सांसद भूमि त्रिपाठीले सिर्डस नेपालले विपद्को समयमा गरेको सहयोग महत्वपूर्ण रहेकोले गाउँपालिकालाई उक्त सामग्रीहरुको उचित प्रयोगको व्यवस्था गर्न अनुरोध गरेका थिए । कोरोना महामारीको नियन्त्रण तथा रोकथाममा सहयोग पु–याउने उद्देश्यले धादिङ जिल्लाका अधिकांश गाउँपालिकाहरुलाई संस्थाले यस्तै प्रकारका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको सिर्डस् नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सांदस त्रिपाठीसहित जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, जिल्ला समन्वय समिति धादिङकै सदस्य उर्मिला रेग्मी, वडाध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, यू एम एन धादिङका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्