सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल सम्मानित
काठमाडौं।विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाईएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाईएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भन्नुभयो–‘यो सगरमाथा आरोहण मात्र होईन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो’ ।
उहाँले सपना जस्तै सोचिएको मिशन सफल भएको र संगठनले गर्व गर्ने अवस्था प्राप्त भएको बताउनुहुँदै आरोहण सफलताका लागि विशेष योगदान पु¥याउनुहुने मिङ्गमा डेविड शेर्पालाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आरोहण सफलतासँगै गौरव र उत्प्रेरणा मिलेको समेत बताउनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट IG APF Commendation द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको संगठनको झन्डा पनि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालाइ हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथा आरोहणको अनुभव सुनाएका थिए । यसका साथै उनले आरोहण कार्यमा सहयोग गर्नुहुने सवैप्रति हार्दिक आभार प्रकट गरे । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलको आरोहण तयारीदेखि सफलता पश्चात प्रधान कार्यालय हलचोक सम्मको वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो ।

