सोमवार साँझदेखि मौसम सफा हुँदै जाने



काठमाडौँ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमवार साँझदेखि मौसम सफा हुँदै जाने बताएका छन्।

पश्चिमी वायुको प्रभावले आज पहाडी र तराई क्षेत्रमा आंशिक बदली भएर पानी परेपछि अधिकारीले सो जानकारी दिएका हुन्।‘तराईको लुम्बिनी प्रदेशको केही स्थानमा हुस्सुसहित पानी परेको छ,’ उनले भने, ‘आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणयता बदली रही बाँकी भूभागमा आंशिक बदली छ।’

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका १/२ स्थानमा फाटफुटदेखि हलुका वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताए।

मौसमविद् अधिकारीका अनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत भूभागमा आंशिकदेखि साधारणयता बदली रही बाँकी भूभागमा सोमवार साँझदेखि मौसम सफा हुँदै जानेछ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हलुका हिमपातको सम्भावनासँगै पहाडी भूभागका १/२ स्थानमा फाटफुटदेखि हलुका वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि छिटपुट पानी परिरहेको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्