भिजिट भिसा प्रकरण : २२ जनामाथि लिखतसम्बन्धी र सङ्गठित अपराधमा मुद्दा चलाउन प्रहरीको सिफारिस



काठमाडौं।भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करी गर्ने २२ जनाबिरुद्द प्रहरीले लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

भिजिट भिषा प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरेको हो।

२२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया रहेको प्रहरीले जनाएको छ ।

विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्