कोशी प्रदेश गठनका लागि दावी पेश गर्न १६ गतेसम्मको समय
काठमाडौं।कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।

सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्त्ति बदर गरेपछि एक हप्ताभित्र बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखले राजनीतिक दलहरूलाई आह्वान गरेका हुन्।
११ साउनमा उत्प्रेषण आदेश जारी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार दिउँसो बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।
अदालतको आदेश पालना गर्दै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न आह्वान गरेअनुसार दलहरूले बहुमत पुर्याएर १६ साउन साँझ ५ बजेसम्ममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुपर्नेछ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार सर्वाेच्चले ११ साउनमा गरेको उत्प्रेषण परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार कोसी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ।
कोसी प्रदेशमा सभामुखसहित कुल ९३ जना सांसद छन्। बहुमतको सरकारका लागि ४७ जना सांसद आवश्यक पर्छ। तर, हाल कोसीमा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्। यसैगरी अर्को गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाको एकजना सांसद छन्।
२१ पुस ०७९ मा मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले माओवादी र जसपा गठबन्धनबाट बाहिरिएपछि १५ असार ०८० मा विश्वासको मत गुमाएका थिए।
त्यसपछि सभामुखसहितको हस्ताक्षर बुझाएर कांग्रेसका उद्धव थापा २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, दल त्याग गरेको घोषणा गरेका सभामुखको हस्ताक्षर असंवैधानिक भन्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति खारेज माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।

