सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति,स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय



काठमाडौं,१३ साउन । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ । वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानुन मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए । संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो । सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।

यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ ।

सहमतिसँगै चिकित्सक संघले जारी राखेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि स्थगित गरी स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्