सभामुख अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको कांग्रेसको आरोप
काठमाडौं,२९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन् । उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए । आङ्देम्बेले आउने दिनमा सदनभित्र प्रतिपक्षको भूमिकालाई सशक्त बनाउँदै लैजाने पनि बताए।
उनले भने, प्रतिपक्षको उपस्थिति सदनमा देखाउन के स्टन्ट गर्नुपर्ने हो त्यो थाहा छैन, जति देख्या छ, इमानदारीपूर्वक आवाज उठाउने कोसिस गरिराखेका छौँ। बाहिर एउटा देखाउने, भित्र अर्को खालको अभिव्यक्ति दिने हामीले गरेका छैनौँ। बाहिर जे छौँ भित्र त्यही छ।
उनले राष्ट्रका जल्दाबल्दा मुद्दा,सानोदेखि ठूलासम्म जनताको समस्यालाई आफूहरूले सदनमा समय दिएको बताए। उनले सदनमा अहिलेसम्म आफूहरूले खेलेको भूमिकाबारे समीक्षा गरेर अगाडि बढ्ने बताए।

