गणेश नेपाली आत्मदाह प्रकरणको छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन गरिने



काठमाडौं,२८ असार । गणेश नेपालीको परिवार र सरकारबीच घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्ने लगायत नाैबुँदे सहमति भएको छ ।

आइतबार भएको सहमति अनुसार गणेशको परिवारजनलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका छन् ।
यस्तै मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने छ ।

घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम हुनेगरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिने छ ।साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने छ । काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने भनिएको छ ।

मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइने भएको छ ।

पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गर्ने सहमति भएको छ ।

मृतकका एकाघरका परिवारजनको काठमाडौंमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्ने भएको छ । यसका साथै पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बीमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्