सरकार उल्टो जुत्ता लगाएर हिँडिरहेको आङ्दम्बेको टिप्पणी
काठमाडौँ,२२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले सरकार ‘उल्टो जुत्ता लगाएर हिँडिरहेको’ टिप्पणी गर्दै यसरी गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।राष्ट्रिय महत्त्वका विषयमा सबै दलहरूसँग साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा सरकार एकलौटी ढंगले अपरिपक्व निर्णयहरू गरिरहेको भन्दै उनले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन्।

सरकारको कार्यशैली र प्रधानमन्त्री वालेन्द्र साहको प्रवृत्तिको कडा आलोचना गर्दै नेता आङदेम्बेले भने, “लोकतन्त्र संवाद र सहमतिबाट चल्छ, तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी,सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। प्रधानमन्त्रीज्यू लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइराखेको छ सभामुख महोदय। यो पटक्कै राम्रो सङ्केत होइन।”
संविधान संशोधन जस्तो संवेदनशील र राष्ट्रिय महत्त्वको विषयलाई सरकारले अत्यन्तै हल्का रूपमा लिएको भन्दै तीव्र आक्रोश समेत व्यक्त गरे । नेता आङदेम्बेले संवैधानिक कानुनको न्यूनतम ज्ञान समेत नभएको र संविधान निर्माणमा कुनै योगदान नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाइएको भन्दै सरकारको कदमप्रति कडा आपत्ति जनाए।
उनले संविधान संशोधनका लागि मुलुकको न्याय प्रणाली र संविधानले चिनेको बहालवाला वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा मात्रै यस्तो प्रक्रिया अगाडि बढाउनु परिपक्व हुने धारणा राखे।

