सम्पति शुद्धीकरण निवारण विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं, १८ असार । सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो । संशोधनहरुमाथि भएको छलफलका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।
उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियार जस्तै शक्तिशाली ‘आर्थिक अपराध प्राधिकरण’ बनाउने बिषयमा समेत छलफल गर्ने तयारी भइरहेको बताए । एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक–फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानूनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए ।

