बुहारीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा ससुरा पक्राउ



काठमाडौं,१८ असार । सप्तरीमा आफ्नै बुहारीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नम्बर ४ सिलहट प्रसाही बस्ने ४० वर्षीय रामेश्वर राम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असार १२ गते राति स्थानीय सरस्वती राम आफ्नै ओछ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। भोलिपल्ट बिहान उनको शव फेला परेपछि प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको थियो।

यौन दुर्व्यवहार र धम्की नै कारण प्रारम्भिक अनुसन्धानबाट मृतक सरस्वतीमाथि उनका ससुरा रामेश्वरले पटक-पटक यौनजन्य दुर्व्यवहार गर्ने गरेको खुलेको छ। सो विषय गाउँमा सार्वजनिक भएपछि स्थानीय स्तरमा पञ्चायत बसेको र पञ्चायतमा रामेश्वरले बुहारीलाई बयान फेर्न चौतर्फी दबाब दिएका थिए।

बयान नफेरे ज्यान लिने सम्मको धम्की ससुराबाट आएपछि मानसिक तनाव खप्न नसकी सरस्वतीले आत्मघाती कदम चालेको प्रहरीको निष्कर्ष छ।

स्थानीय स्रोतका अनुसार गाउँमा आयोजित पञ्चायतमा पीडित महिलालाई नै दोषी देखाएर घटनालाई गुपचुप राख्ने प्रयास गरिएको थियो। उक्त कथित पञ्चायतमा संलग्न अन्य व्यक्तिहरू अहिले फरार रहेकाले प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ।

यस विषयमा बोदेबरसाईन-४ का वडाध्यक्ष किरन साहले घटनाको पुष्टि गर्दै प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेकाले तत्काल विस्तृत टिप्पणी नगर्ने बताए।

पाँच दिनको म्याद थप पक्राउ परेका रामेश्वर रामविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा कानुनी कारबाही अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्