लाेकलयमा पहिलाे चारुसङ्ग्रह ‘शून्य अनुराग’ बिमोचित



काठमाडौं,१३ असार । हामी र हाम्रो कृति समाजको २६औँ कृति दिपक पनेरुको चारुसङ्ग्रह ‘शून्य अनुराग’ बालुवाटार,काठमाडौँस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभहलमा सम्पन्न भएको छ।

दीपोज्वलन साथै राष्ट्रिय गानसहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजका संस्थापक सदस्य पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सोही संस्थाकी संस्थापक सदस्य सुभद्रा अधिकारीले दिनुभएको थियो ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार एवम् गजलकार ज्ञानुवाकर पौडेल रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिको आसनमा वरिष्ठ कवि एवम् मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडौँका अध्यक्ष कलानिधि दाहाल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी, मुक्तक अभियन्ता एवम् हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी, साहित्यकार तथा आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल‘महेश’, प्रथम चारुसङ्ग्रह प्रकाशित गर्नु भएकी अमृता रसाइली( रामदाम ) र भू. पु. प्रहरी महानिरीक्षक लक्ष्मण रायमाझी रहनुभएको थियो ।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिले विमोचित कृति माथि सटिक विश्लेषण गर्दै दिपक पनेरुद्वारा लिखित लोकलयमा प्रथम चारुसङ्ग्रह ‘शून्य अनुराग’ साहित्यको भण्डारमा एऊटा छुट्टै पहिचान बोकेको कृतिको रूपमा रहने कुरामा आफूहरू ढुक्क भएको प्रष्ट पार्दै विमोचित कृतिका कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथिको आसनमा रहनु भएका डा. देवी पन्थीले समीक्षकको समेत भूमिका निर्वाह गर्दै विमोचित कृति ‘शून्य अनुराग’ लोकलयमा प्रथम चारुसङ्ग्रह भएको र यस सङ्ग्रहभित्र समेटिएका हरेक चारुका पङ्क्तिहरू अत्यन्तै गहन र मिठो भावमा सजिएको हुँदा पाठक वर्गको मन छुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउँदै कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी विमोचित कृतिका कृतिकार दिपक पनेरुले कृति प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै विमोचन सभालाई सफल बनाईदिन उपस्थित हुनुभएका सम्पूर्ण साहित्यकारप्रति आभार प्रकट गर्नुभएको थियो ।

लगभग ७० जना साहित्यकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनु भएका मध्यहरूबाट विमोचित कृतिबाटै रचना वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, राजेन्द्र कुमार बज्राचार्य, अरूण खड्का, प्रमोद भट्टराई ‘ प्रतिक’, नम्रता उप्रेती, सुभद्रा अधिकारी, इन्दिरा रेग्मी, अमृता रसाइली ‘रामदाम’,  कल्पना मरासिनी र बद्री उप्रेती रहनु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपालले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्