उपत्यकाका नदी तथा खोलाको किनारामा पुरानै मापदण्ड कायम
काठमाडौं,६ जेठ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ ।

न्यायाधीशहरू सुनिल कुमार पोखरेल,बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो ।
आदेशअनुसार बागमती,विष्णुमती र मनोहरा नदी किनारामा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ । धोबीखोलामा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न सकिनेछ भने प्लानिङ नभएको क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ ।
त्यस्तै नख्खु खोलामा १२ मिटर,बल्खु,कर्मनासा,कोइके,साले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसी लगायत अन्य खोलामा ४ मिटर छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ ।
सर्वोच्चले कुनै पनि खोला,खोल्सी र राजकुलो छोप्न नपाइने पनि स्पष्ट गरेको छ ।

