पुराना दलले विद्यालयलाई कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाएको सांसद पराजुलीको आरोप



काठमाडौं,२९ बैशाख । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पुराना दलले विद्यालयलाई कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“हिजोका क्रान्तिकारी नेताज्यूहरूले विद्यालयलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउनुभयो । अब यो जेनेरेसनले सक्षम नागरिक उत्पादन गर्न चाहन्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा दलीयकरण हटाएर सक्षम नागरिक र नागरिकलाई सेवा दिन सक्ने ब्युरोक्रेसी बनाउन चाहन्छ,” उनले भने, “त्यसैले अब दलका कार्यकर्ता बनाउने सपना देख्न बिर्सिदिनका लागि अनुरोध गर्न चाहन्छु । यो पुस्ताले देखेको सपनालाई आत्मासात् गर्नका लागि अनुरोध गर्न चाहन्छु ।”

उपनेता पराजुलीले पुराना दलहरूले प्रारम्भिक राजनीतिक परिवर्तनका क्रममा गरेको योगदानलाई सम्मान गर्दै पनि अहिलेको नेतृत्वले त्यसैको लाभ लिइरहेको अवस्था स्वीकार्य नहुने बताए ।

‘जनतामा अब यस्तो ब्याज खाने राजनीतिबाट मुक्ति खोज्ने भावना बढिरहेको छ’, उनले भने, ‘व्यवस्था परिवर्तनका लागि अगाडिका नेताहरूले गरेको त्यागलाई हामी सम्झिरहेका छौँ, तर, पुरानो पुस्ताले गरेको प्रगतिप्रति मात्रै निर्भर रहने अवस्थाबाट जनता अब बाहिर निस्कन चाहन्छन् ।’

प्रतिक्रिया दिनुहोस्