महाअभियोगको धम्कीले न्यायको मर्म मर्न दिनु हुँदैन :कामु प्रधानन्यायाधीश मल्ल
काठमाडौं,२६ बैशाख । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भएपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने बताएकी छन् ।

७४ औँ कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक शक्ति सन्तुलन वा सरकारको बहुमतको आधारमा न्याय प्रभावित हुन नहुने बताईन। दुईतिहाइको सरकार वा महाअभियोगको धम्कीले न्यायको मर्म मर्न दिनु नहुने उनको भनाई थियो।
उनले अदम्य साहसका साथ न्यायको मन्दिरलाई निष्पक्ष राख्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरिन्। उनले न्यायपालिकाको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न न्यायाधीशहरूले निर्भीक भएर फैसला गर्नुपर्नेमा जोड दिइन्।‘न्यायकर्मीहरू कुनै पनि शक्तिसँग डराउनु पर्दैन, उनीहरूको कर्तव्य केवल संविधान र कानुनको रक्षा गर्नु हो,’ उनले थपिन्।
आफ्नो व्यक्तिगत सङ्घर्षको स्मरण गर्दै कामु प्रधानन्यायाधीश मल्लले आफू कानुन व्यवसायी भएदेखि नै विभेद र अन्यायका विरुद्ध लड्दै आएको बताइन्।यस गम्भीर मोडमा संविधानवाद, विधिको शासन र नागरिक हकको रक्षाका लागि नेपाल बार एसोसिएसन, आमसञ्चार माध्यम र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन्।
न्यायपालिकाको स्वतन्त्रता जोगाउन सबै सरोकारवाला निकायहरूले एक भएर काम गर्नुपर्ने उनको भनाइ थियो। ‘न्यायपालिकाको मर्यादा बचाउनु हामी सबैको साझा दायित्व हो,’ उनले भनिन्।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

