अध्यादेशको तरंग : आज एमाले संसदीय दलको कार्यालयमा बिपक्षीहरुको जमघट हुंदै
काठमाडौं,१७ वैशाख । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।
आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् । सरकारले मंगलबार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश र सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश तथा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउने अध्यादेश),सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश
र सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश जारी गर्न बुधबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
बिपक्षी दलहरूले हिजो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेर सरकारले सिफारिस गरेका अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

