वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
काभ्रे,१२ बैशाख । भारी बर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै बीपी राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

बनेपामा भारी वर्षा भएपछि गाडीहरुलाई रोशीको इलाका प्रहरी कार्यालय मंगलटारमा रोकिएको (होल्ड) छ । उता,पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई खुरकोट क्षेत्रमा रोकिन लगाइएको छ भने काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई धुलिखेल समेतमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाजूका अनुसार मौसममा सुधार आई सडक मार्ग सुरक्षित बनेपछि मात्र पुनः सवारी सञ्चालनका लागि अनुमति दिइने छ ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी गरी जानकारी दिने बताइएको छ । प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नु परेमा १०० वा १०३ नम्बरमा सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

