बीरगञ्जमा मुख्य सडक बिस्तारको काम सुरु



वीरगन्ज,६ बैशाख । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मूख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानैबाट सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासंगको समन्वयमा आइतबार बिहानैदेखि मेनरोड राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५-२५ मिटर विस्तार गर्न सुरु गरेको हो । विगत १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबारदेखि सुरु गरिएको हो ।

सडक विभागका ९ र महानगरपालिकाको ४ गरी १३ वटा डोजरले सडकको दायाँ–बायाँ २५-२५ मिटर क्षेत्रमा पर्ने घर,भवन लगायतका संरचनाहरु आइतबार बिहान ५ बजेदेखि नै भत्काउन सुरु गरिएको सडक डिभिजन कार्यालयका नायब सुब्बा राजकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, बिहानदेखि चिनीमिल आवास क्षेत्र ,पावरहाउस चोक, मुर्ली ,माईस्थान, घण्टाघर,आदर्शनगर, रजतजयन्ति चोकमा एकैसाथ डोजर लगाएर सडकको दायाँ–बायाँ २५-२५ मिटर क्षेत्रमा रहेका संरचनाहरु भत्काएर खाली गर्ने काम भएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार, त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि नेपाल–भारत सीमाको मितेरी पुलसम्मको २५-२५ मिटर सडक विस्तार क्षेत्रभित्र सरकारी कार्यालयका २९ वटा भवन तथा व्यक्तिका निजी स्वामित्वमा रहेका करिब १ हजार २०० वटा घरहरू रहेका छन्। सडक विस्तार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसंगै वीरगन्ज महानगरपालिकाका नगरप्रहरीहरुपनि खटिएका छन् । सर्वोच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दामा २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गरेको झन्डै १३ महिनापछि उक्त फैसलाको कार्यान्वयन आइतबारदेखि सुरु भएको हो । पटक–पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले २०८१ फागुन २८ गते विपक्षी घरजग्गाधनीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला सुनाएपछि झन्डै १३ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारको कानुनी अड्चन हटेको थियो। यद्यपि, सर्वोच्चको फैसलाको पूर्णपाठ प्राप्त नहुँदा फैसला कार्यान्वयनका लागि सडक डिभिजन कार्यालयले यसअघि सक्रियता देखाएको थिएन।

सर्वोच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तारसम्बन्धी रिट निवेदन खारेज गरेको फैसलाको पूर्णपाठ, फैसला भएको एक वर्षपछि अर्थात् गत फागुन २४ गते मात्र सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्