नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशन वैशाख अन्तिम साता हुने



काठमाडौँ,२८ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । महासङ्घको केन्द्रीय सचिवालयले एक सूचना जारी गर्दै आगामी २०८३ वैशाख २७, २८ र २९ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिएको हो ।

महाधिवेशनलाई व्यवस्थित बनाउन महासङ्घले मातहतका निकायलाई विभिन्न निर्देशनहरू समेत जारी गरेको छ । साथै महासङ्घले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूलाई चैत मसान्तभित्र अनिवार्य रूपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्लाहरूलाई राष्ट्रिय महाधिवेशनमा सहभागी नगराइने सूचनामा उल्लेख छ ।

यसैगरी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली सङ्कलनका लागि वैशाख १५ गतेसम्मको समय सीमा तोकिएको छ । प्रदेश संयोजकहरूले आ–आफ्नो प्रदेशबाट छनोट भएका प्रतिनिधिहरूको रेकर्ड सोही मितिको कार्यालय समय (साँझ ५ः०० बजे) भित्र केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ ।

यस्तै, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले २/२ प्रति फोटो, सदस्य संस्थाको लेबी रकम र प्रतिनिधि शुल्क अनिवार्य रूपमा बुझाउनुपर्नेछ । लेवी वा अन्य आर्थिक दायित्व बाँकी रहेका सदस्यहरूलाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले स्पष्ट पारेको छ ।

यस पटकको महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ । महासङ्घको केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन एकै दिन र एकै स्थानमा हुनेछ । निर्वाचन प्रक्रियालाई ‘प्रविधिमैत्री विद्युतीय मतदान’ बाट सम्पन्न गरिने  सूचनामा उल्लेख छ ।

यस्तै, बागमती प्रदेशभित्र समस्या रहेका जिल्लाहरूको हकमा भने केन्द्रीय सचिवालयले तोकेका पदाधिकारीहरूबाट नामावली प्रमाणीकरण गराई चैत १५ गतेभित्रै पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्