सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड सम्पन्न



काठमाडौं,२७ चैत । सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष तथा विश्व कीर्तिमानी व्यक्तित्व राजेन्द्र लुईटेल (राज) लाई ‘सगरमाथा सम्मान’ प्रदान गरिएको छ। काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न सातौं सगरमाथा म्युजिक अवार्ड समारोहका बीच आयोजित विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा,,आयोजक समिति कार्यक्रम प्रमुख पुरुषोतम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा ,रिलायन्स फाईनान्सका डेपुटी सिईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरुले उहाँलाई उक्त सम्मान प्रदान गरेका हुन्।कार्यक्रम मेगा टिभीमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो। सोही अवसरमा वरिष्ठ सितारवादक विजया शर्मालाई ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत नगदसहित सम्मान गरिएको थियो।

आयोजक समितिका अनुसार लुईटेललाई कला, साहित्य, सञ्चार, समाजसेवा तथा कार्यक्रम व्यवस्थापन क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो। विशेषतः उहाँजस्ता प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्दै नयाँ पुस्तालाई सृजनात्मक, सेवामूलक र राष्ट्रप्रेमी मार्गतर्फ अभिप्रेरित गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

बहुआयामिक व्यक्तित्वका धनी लुईटेलले नेपालमा ‘इभेन्ट म्यानेजमेन्ट’ लाई औपचारिक पेशाका रूपमा स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छ। उहाँको नाम विभिन्न अन्तर्राष्ट्रिय रेकर्ड संस्थाहरूमा दर्ता भई विश्वस्तरमा समेत पहिचान स्थापित भइसकेको छ।

कोभिड–१९ महामारीका कठिन समयमा उहाँले ७२ जिल्लासम्म राहत वितरण, स्वास्थ्य सामग्री आपूर्ति तथा दैनिक १० हजारभन्दा बढी व्यक्तिलाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरी सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

सञ्चारकर्मी, कार्यक्रम परामर्शदाता तथा लेखकका रूपमा हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको सफल व्यवस्थापन गर्दै उहाँले नेपाली मञ्च संस्कृति, प्रस्तुति कला र सार्वजनिक संप्रेषण प्रणालीमा गुणात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको विभिन्न विश्लेषकहरूको भनाइ छ।

लुईटेलले सञ्चार र सिर्जनशीलताको माध्यमबाट समाजमा सकारात्मक रूपान्तरण, राष्ट्रिय एकता र युवा जागरणको सन्देश फैलाउँदै आउनुभएको छ। उहाँको यही निरन्तर योगदान, नेतृत्वदायी क्षमता र समाजप्रतिको समर्पणलाई कदर गर्दै प्रदान गरिएको ‘सगरमाथा सम्मान’ ले उहाँको व्यक्तित्वलाई अझ उचाइमा पुर्‍याएको विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्