सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा दर्ता भयो यौन दुराचारको उजुरी



काठमाडौं,२६ चैत। कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ।

अमेरिकामा अध्ययन गरिरहेकी छात्रा संगम बिष्टले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा एफआइआर दर्ता गरेकी हुन्। पारिवारिक स्रोतका अनुसार दुई दिनअघि New York City Police Department (NYPD) मा एफआइआर दर्ता भएको हो र प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। यस प्रकरणमा अमेरिकी प्रहरीले नेपाल प्रहरीसँग पनि समन्वय गर्ने अपेक्षा गरिएको छ।

संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा आफूले भेट गरेको र फ्ल्याट देखाउन लगेको उल्लेख गरेकी थिइन्। दाजुजस्तै मानेको व्यक्तिले फ्ल्याटमै आफूलाई जबरजस्ती करणी गरेको उनको आरोप छ।

संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरी हिरासतमा राखेको थियो। तर, उनीविरुद्ध बलात्कारसम्बन्धी औपचारिक जाहेरी भने दर्ता भएको छैन।

बलात्कारको जाहेरी नपरेको कारण प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थपेको थियो। अभद्र व्यवहारको कसुरमा प्रमुख जिल्ला अधिकारीले बढीमा २५ दिनसम्म हिरासतमा राख्न सक्ने कानुनी व्यवस्था छ।

संगमको परिवार हाल कानुनी प्रक्रियाबारे वकिलहरूसँग परामर्श गरिरहेको छ। नेपालमा पनि जाहेरी दिने वा नदिने भन्ने विषयमा उनीहरू अझै निष्कर्षमा पुगिनसकेको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्