हाजिरी जमानीमा थुनामुक्त भए ओली-लेखक
काठमाडौं,२६ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार (चैत २६) हाजिरी जमानीमा थुनामुक्त भएका छन् ।

उनीहरू पक्राउ परेको १३औँ दिनमा थुनामुक्त भएका हुन् । ओली भक्तपुरको गुन्डुबाट र लेखक कटुन्जेबाट चैत १४ (शनिबार) बिहान पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका टोलीले दुवैजनालाई उनीहरूकै निवासबाट पक्राउ गरेका थिए । उनीहरूलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
उता ओलीलाई भने तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने अस्पतालले जनाएको छ । हाल उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । ओलीको पित्तथैलीमा समस्या देखिएको छ । पिसाबमा पनि संक्रमण रहेको अस्पतालले जनाएको छ ।

