रंग नम्बरका कारण उत्पन्न विवादले लियो दाजुभाइको ज्यान
काठमाडौँ,२६ चैत । ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको विभत्स हत्या भएको छ।

मृत्यु हुनेहरूमा ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ रहेका छन्। ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
घटनाको सुरुवात एक ‘रङ नम्बर’ बाट भएको खुलेको छ। बुधबार साँझ इमाडोल बस्ने नेम्बाङ दाजुभाइले फोन गर्दा झुक्किएर अपरिचित व्यक्ति सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो।
फोनमा कुराकानीकै क्रममा दुवै पक्षबीच भनाभन र विवाद बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिएका थिए।
फोनको विवादपछि पाटन पुगेका नेम्बाङ दाजुभाइमाथि मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग गरिने घरेलु हतियार (चक्कु)ले प्रहार गरेका थिए।
घटनामा संलग्न मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

