थापालाई सभापति स्वीकार गर्न नसकिने देउवा–कोइराला पक्षको निष्कर्ष



काठमाडौँ,१७ चैत । नेपाली कांग्रेसको देउवा–कोइराला पक्षले गगन थापालाई सभापतिको रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको हो।

बैठकमा पार्टीका शीर्ष नेताहरूसहित करिब ८३ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकमा बोल्ने १५ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको कांग्रेस नेता मानबहादुर नेपालीले बताए।

नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष संवेदनशील नभएको आरोप लगाए।

उनले भने, ‘जतिबेला घोषणापत्र लेख्ने र उम्मेदवार चयन गर्ने समय थियो, त्यतिबेला विशेष महाधिवेशनका नाममा नाटक गरेर उहाँले आफूलाई सभापति घोषणा गर्नुभयो। हामीले निर्वाचनसम्मका लागि शालीनता देखाएर चुप बसेका थियौँ, तर अब उहाँलाई सभापतिका रूपमा स्वीकार्न सकिँदैन।’

देउवा–कोइराला समूहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रीय समितिलाई नै आधिकारिक मानेको छ। अदालतको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ।

प्रतिक्रिया दिनुहोस्