काठमाडौंमा पाकिस्तानी राष्ट्रिय स्वतन्त्रता दिवसको विशेष कार्यक्रम



काठमाडौं,१० चैत । पाकिस्तानी दूतावास,काठमाडौंले पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसका अवसरमा विशेष कार्यक्रम गरेको छ । समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दूतावास परिसरमा राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रमका क्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इसहाक दारका सन्देशहरू वाचन गरिएको थियो ।

राष्ट्रपति जर्दारीले आफ्नो सन्देशमा राष्ट्रिय दिवसले एकता र ऐक्यबद्धतामार्फत राष्ट्रिय लक्ष्यलाई वास्तविकतामा रूपान्तरण गर्ने प्रेरणा दिने उल्लेख गर्दै कानुनी शासन सुदृढीकरण, लोकतान्त्रिक संस्थाहरूको मजबुती, असमानता न्यूनीकरण, महिला सशक्तीकरण तथा आतंकवाद र अतिवाद उन्मूलनमा जोड दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री शहबाज शरीफले मार्च २३ दक्षिण एसियाको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा भएको उल्लेख गर्दै पाकिस्तान विश्व शान्तिको पक्षधर भएको बताए । उनले क्षेत्रीय स्थायित्वका लागि संवाद र आपसी सम्मान आवश्यक रहेकोमा जोड दिँदै जम्मु र कश्मीर मुद्दाको न्यायोचित समाधान दिगो शान्तिसँग जोडिएको धारणा व्यक्त गरेका थिए । साथै, प्यालेस्टाइनका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै मध्यपूर्वमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरिएको थियो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इसहाक दारले स्वतन्त्र पाकिस्तान निर्माणमा पुर्खाहरूको संघर्ष र योगदानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्षेत्रीय तनावले आर्थिक तथा राजनीतिक असर पारेको उल्लेख गरेका थिए ।

राजदूत हाश्मीले आफ्नो मन्तव्यमा समुदायलाई राष्ट्रिय दिवसको शुभकामना दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई अझ सुदृढ बनाउन सबैको योगदानको प्रशंसा गरेका थिए । उनले सन् १९४० मार्च २३ को ऐतिहासिक महत्त्व स्मरण गर्दै मोहम्मद अली जिन्नाहको नेतृत्व र पुर्खाहरूको बलिदानप्रति सम्मान व्यक्त गरे ।

साथै, मध्यपूर्वमा जारी द्वन्द्वका कारण भएको मानवीय क्षतिप्रति सहानुभूति व्यक्त गर्दै यस वर्ष प्रधानमन्त्रीको निर्देशनअनुसार राष्ट्रिय दिवसको औपचारिक स्वागत समारोह आयोजना नगर्ने जानकारी समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्