गैर आवासीय र नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अब छुट्टै डेस्क राखिने
काठमाडौँ,८ चैत । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवर्द्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।
सो विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ ।
विश्वमा रहेका नेपाली मूलका नागरिकहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ ।
आइतबार अध्यागमन विभागले सो निर्णय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै सो संस्थाले विज्ञप्तिमार्फत गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गरेको हो ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूहरू सम्मानित भएको महसुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुग्ने विश्वास लिएका छौँ ।’

