पालिकाको बिषयमा भ्रमपूर्ण प्रचार गरिएको थुलुङ दुधकोशीको स्पष्टोक्ति



सोलुखुम्बु,७ चैत । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पछिल्लो समय पालिकाको काम कारबाहीको बिषयमा अनर्गल र भ्रमपूर्ण प्रचार गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केहि ब्यक्तिले फोन मार्फत धम्की दिएपछि कार्यवाहक अध्यक्ष सविता राई र प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई लगायत अन्य शाखा प्रमुखहरु कार्यालय छोडेर हिंडेको भन्दै सामाजिक सञ्जाल भइ रहेको प्रचार बदनियतपूर्ण रहेको भन्दै गाउँपालिका प्रबक्ता भोजराज कार्कीद्वारा आइतबार प्रकाशित बिज्ञप्तिमा चैत ५ र ६ गते वहाँहरु कार्यालयको महत्वपूर्ण काम समेतका लागि काठमाडौं गएको उल्लेख गरिएको छ ।

धाकधम्की सम्बन्धि सम्बन्धित व्यक्तिहरुबीच छलफल समेत भएर आगामी दिनमा कुनैपनि कानुन विपरित कार्य नगर्ने नगराउने आपसी सहमति भइ सकेको उल्लेख गर्दै प्रवक्ता कार्कीले कार्यालयको सेवा प्रवाहमा कुनै समस्या नरही नियमित कार्य भइरहेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रबक्ता कार्कीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,-मिति २०८२ साल चैत्र ५ र ६ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत सहितका शाखा प्रमुखहरु सेवा प्रभावित हुनेगरि बाहिर गएको भनिएको तर यस घटनाको मुख्य कारण अपरिचित व्यक्तिले कार्यालयका कर्मचारीलाई फोन गरि ज्यान सम्बन्धि धम्की दिएको र ज्यान सुरक्षाको लागि रातारात हिडेको भनिएता पनि प्रमुख प्रशासकीय अधिकृत,प्राविधिक शाखा प्रमुख र लेखा शाखाका कर्मचारीसहित कार्यवाहक अध्यक्ष समेत कार्यालयको महत्वपूर्ण काम समेतको लागि काठमाडौँ गएको सत्य रहेको छ ।

धाकधम्की सम्बन्धि सम्बन्धित व्यक्तिहरु बीच छलफल समेत भएर आगामी दिनमा कुनैपनि कानुन ‘विपरित कार्य नगर्ने नगराउने आपसी सहमति भई हाल कार्यालयको सेवा प्रवाहमा समेत कुनै समस्या नरही नियमित कार्य भइरहेको विषय समेत स्पष्ट पार्दछौं। कार्यालयको सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिको विषयमा चित्त बुझ्दो कार्य नभएमा कानुनी उपचारको माध्यम रहेकाले सत्य तथ्य विषय बस्तुस्थितिलाई आधिकारीक व्यक्तीको अनुमति विना विभिन्न माध्यमबाट सम्प्रेषण गर्ने कार्य आगामी दिनमा नगर्न नगराउन सबैपक्षलाई आग्रह गर्दछौं ।

यदि यस्ता गैह्रकानुनी कार्य भए गरेको पाईएमा तत्काल कानुन बमोजिम कारबाही गर्नको निम्ति सम्बन्धित निकायलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्नुका साथै यस पालिकाभित्रका सम्पुर्ण नागरिक,कर्मचारी लगायतको सुरक्षा गर्ने गराउने समेत प्रतिवद्धता व्यक्त गर्दछौं।

प्रतिक्रिया दिनुहोस्