सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा
काठमाडौं,६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव पेश भएको छ । बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने प्रस्ताव पेश भएको हो।

उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनका बिषयमा पनि छलफल गरेको छ।थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो । बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।
केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाकाे बारेमा १४ पेजको प्रतिवेदनमा शुक्रबार सदस्यहरूले धारणा राखेका थिए ।
नेता आचार्यले आइतबार बस्ने बैठकमा पनि साेही प्रतिवेदनमा सदस्यहरुले आफ्नाे धारणा राख्ने जानकारी गराउनुभयाे ।

