किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा दुई पुरुष पक्राउ
काठमाडौं,१ चैत । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा दुई पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय निमबहादुर मगर रहेका छन् । फरक–फरक मिति र समयमा ती किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक ईश्वर अधिकारीका अनुसार आरोपित दुवै जनालाई शनिबार सिद्धिचरण नगरपालिका–११ को रमाइलोडाँडा र रामबजार क्षेत्रबाट पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धानका क्रममा पीडित किशोरी गर्भवती समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै आरोपीलाई आइतबार ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

