कांग्रेस र राप्रपाले टुंग्याए समानुपातिक सांसदको नाम
काठमाडौं,१ चैत। नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ ।

आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ ।
सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनुभयो ।
उहाँले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो । उहाँकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको उहाँले जनाकारी दिनुभयो ।
उता,राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आजै बसेको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको छ । समानुपातिक तर्फ राप्रपाले भरत गिरी (खस आर्य पुरुष),ताहिर अली (मुस्लिम पुरुष),खुश्बु ओली (खस आर्य महिला) र सरस्वती लामा (जनजाति महिला)लाई सांसद सिफारिस गर्ने निर्णय गरेको छ।

