एमालेको बर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई पूर्ण रूपमा अस्वीकार गरे : नेता पाण्डे
काठमाडौँ,१ चैत । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । निर्वाचनमा प्राप्त परिणामलाई षड्यन्त्र वा अन्तर्घातको नाम दिएर नेतृत्व उम्किन नमिल्ने भन्दै उनले पार्टीको समग्र संरचना नै रिसेट गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पाण्डेले जनताले मतपत्रमार्फत अस्वीकार को कठोर फैसला सुनाइसकेको अवस्थामा सत्य बोल्ने कार्यकर्तालाई कारबाहीको धम्की दिनु अविवेकी कार्य हुने बताएका छन् । उनले भने, ‘यति ठुलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ?’
चुनावमा देखिएको ४०–५० हजारको विशाल मतान्तरलाई अन्तर्घातको सामान्य पगरी गुथाउनु जनताको विवेकको अपमान हुने पाण्डेको तर्क छ। ‘अन्तर्घातले ५–१० हजार मत तल(माथि होला, तर यति ठुलो अन्तरले पराजित हुनु भनेको एमालेको वर्तमान पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो,’ उनले लेखेका छन् ।
Laxmi sunrise bank

