नव निर्बाचित राष्ट्रिय सभा सदस्यले लिए सपथ,राष्ट्र र जनताको हितका लागि काम गर्ने प्रतिबद्धता
काठमाडौं,२५ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए ।
सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिए । कार्यक्रममा सदस्य मीनासिंह रखाल भने आज अनुपस्थित थिइन् ।
कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

