हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक, चार स्थानको बाँकी
काठमाडौं,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

चार निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । गोरखा–१, संखुवासभा, इलाम–१ र धनुषा–१ को मतपरिणाम घोषणा हुन बाँकी छ ।
जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता लिइरहेका छन् । गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् । दोस्रोमा रहने कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६०० मत ल्याएका छन् ।
नेपाली कांग्रेस १७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । इलाम–१ मा कांग्रेस अगाडि रहेको छ । कांग्रेसका निश्कल राईले ११ हजार १६५ मत पाएका छन् । दोस्रोमा रहेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले १० हजार ८२५ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)ले आठ स्थान विजयी भएको छ । एक स्थानमा अगाडि रहेको छ । संखुवासभामा एमाले अगाडि छ । एमालेका अर्जुन कुुमार कार्कीले १० हजार ८१२ मत पाएका छन् । रास्वपाका मिङमा शेर्पाले नौ हजार ९६७ मत प्राप्त गरेका छन् ।
धनुषा–१ मा निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ ।
आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

