निर्वाचन आयोगमा नेपाली कांग्रेसले बुझायो चारबुँदे ध्यानकर्षणपत्र
काठमाडौं,१७ फागुन । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले आइतबार कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् ।
जसमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको उल्लेख छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार, समर्थक घण्टी बोकेर प्रचारमा छन् ।
राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो ।
त्यस्तै, आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशनविपरीत झण्डाको दुरुपयोग भइरहेको चालिसेले बुझाएको पत्रमा उल्लेख छ ।“मिथ्या सूचनाको दुस्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको,” पत्रमा भनिएको छ ।
कांग्रेसले पत्र बुझाएपछि आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको न्यूनीकरणमा उच्च प्राथमिकताका साथ लागेको बताए ।धेरैलाई कारबाहीहरू पनि भएको, नगद कारोबारप्रति आयोगकफ शून्य सहनशीलताको नीति रहेको पनि उनले सुनाएका थिए ।
राष्ट्रिय झण्डाको दुरुपयोग न्यूनीकरणमा र भौतिक चुनाव चिह्नको प्रयोगको सन्दर्भमा पनि आयोगले गम्भीरतापूर्वक नियालिरहेको, सरोकारवालालाई ध्यानाकर्षण गराइएको उनले बताएका थिए ।

