ऐरलाई नेपाल–भारत सामाजिक तथा सांस्कृतिक सम्बन्धमा विद्यावारिधि उपाधि
दाङ,१६ फागुन । नेपाल–भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध विषयमा अध्ययन गर्दै उत्तरबहादुर ऐरले विद्यावारिधि (एजम्) उपाधि हासिल गरेका छन्। उनले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत राजनीति शास्त्र विषयमा “नेपाल–भारत सामाजिक तथा सांस्कृतिक सम्बन्ध” शीर्षकमा शोधकार्य पूरा गर्दै विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्।

ऐरको शोधकार्यमा नेपाल र भारतबीच ऐतिहासिक रूपमा रहँदै आएको सामाजिक, सांस्कृतिक, धार्मिक तथा जनस्तरको सम्बन्धको विश्लेषण गरिएको छ। अध्ययनमा खुला सिमाना, आपसी आवतजावत, वैवाहिक सम्बन्ध, भाषा–संस्कृति तथा परम्परागत सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको निष्कर्ष निकालिएको छ।
विद्यावारिधि उपाधि प्राप्त गरेपछि ऐरले आफ्नो अध्ययनले नेपाल–भारत सम्बन्धलाई सामाजिक र सांस्कृतिक दृष्टिले अझ स्पष्ट रूपमा बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरसम्म गहिरो रूपमा गाँसिएको छ।
स्थानीय बुद्धिजीवी तथा सरोकारवालाले ऐरको शैक्षिक उपलब्धिलाई महत्वपूर्ण मान्दै यसले नेपाल–भारत सम्बन्धबारे अध्ययन र अनुसन्धानमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उत्तरबहादुर ऐर लामो समयदेखि अध्ययन–अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल–भारत सम्बन्धका सामाजिक र सांस्कृतिक पक्षबारे गरिएको उनको अनुसन्धानलाई महत्वपूर्ण शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ।

