‘सगुन ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ को ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा



काठमाडौ,११ फागुन । हाउस अफ फेसन नेपालको महत्वाकांक्षी प्रतियोगिता ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ अन्तिम चरणमा आइपुगेको छ । प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण तथा रोमाञ्चक दिन अर्थात ग्राण्ड फिनाले यही फागुन १२ गते अर्थात मंगलवार ललितपुरमा आयोजना हुँदैछ ।

आयोजक संस्थाले ग्राण्ड फिनालेलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको छ । हाउस अफ फेसन नेपालकी प्रमुख ओशिमा बानुका अनुसार यसपटक मिसेस भोग नेपाल सीजन ३ को ग्राण्ड फिनाले ललितपुरको एकान्तकुनास्थित म्याजेष्टिक ग्राण्डमा आयोजना हुँदैछ । यो कार्यक्रम मंगलवार साँझ पाँच बजेपछि प्रारम्भ हुनेछ ।

यसअघि आयोजक संस्थाकले प्रतियोगिताका सम्पूर्ण प्रतिस्पर्धिहरुलाई ग्राण्ड फिनालेको आयोजनास्थल म्याजेष्टिक ग्राण्डको भ्रमण गराएको थियो । निकै भव्य र आकर्षक म्याजेष्टिक ग्राण्डमा मिसेस भोग नेपाल सीजन को ग्राण्ड फिनालेका लागि विशेष ‘भेन्यू भिजिट’ कार्यक्रम नै आयोजना गरिएको थियो ।

भेन्यु भ्रमणका क्रममा म्याजेष्टिक ग्र्राण्ड परिवारले सम्पूर्ण प्रतिस्पर्धीहरूलाई न्यानो आतिथ्यका साथ स्वागत गरेको थियो । सम्मानस्वरूप खादा ओढाएर गरिमामय रूपमा अभिनन्दन गरिएको दृश्य निकै उत्साहजनक देखिन्थ्यो ।

भेन्युको आकर्षक सजावट, सुन्दर इन्टेरियर, सुसज्जित स्टेज तथा विलासी वातावरणले सबै प्रतिस्पर्धीहरूलाई थप प्रेरित बनाएको थियो । कार्यक्रमको स्तरअनुसार तयार गरिएको ग्राण्ड स्टेज सेटअप, आधुनिक लाइटिङ तथा साउन्ड सिस्टमले फिनाले झन् भव्य हुने संकेत दिएको छ ।

उक्त भेन्यु भिजिटले प्रतिस्पर्धीहरूलाई कार्यक्रम स्थलसँग परिचित हुन ठूलो सहयोग पुगेको छ । ग्राण्ड फिनालेको भेन्यूमा इन्ट्री–एक्जिट प्वाइन्ट, र्याम्पको बनावट, लाइटिङ तथा क्यामेरा सेटअपदेखि दर्शक बस्ने व्यवस्थालाई पनि विशेष ध्यान दिएर तयार पारिुउको छ । यी सम्पूर्ण पक्षलाई नजिकबाट अवलोकन गर्न पाउँदा प्रतिस्पर्धीहरू आफ्नो प्रस्तुतिप्रति अझ विश्वस्त र आत्मविश्वासी देखिएका थिए । मानसिक तयारीका दृष्टिले पनि यो भ्रमण अत्यन्त उपयोगी सावित भएको आयोजक पक्षले जनाएको छ ।

भेन्यु भिजिटसँगै प्रतिस्पर्धीहरूका लागि विशेष वाक तथा रनवे प्रशिक्षण शत्र पनि आयोजना गरिएको थियो । यो प्रशिक्षण चर्चित कोरियोग्राफर विमल पुनद्वारा सञ्चालन गरिएको थियो । त्यसक्रममा उनले प्रतिस्पर्धीहरूलाई ग्राण्ड फिनालेको क्रममा प्रभावशाली स्टेज प्रेजेन्स कसरी देखाउने, आत्मविश्वास कसरी बढाउने, सही पोस्चर कसरी कायम गर्ने, ग्रेसफुल तथा आकर्षक वाक कसरी प्रस्तुत गर्ने जस्ता महत्वपूर्ण पक्षमा व्यावहारिक प्रशिक्षण दिएका थिए । साथै, ग्राण्ड फिनालेको दिन आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पनि विशेष मार्गदर्शन प्रदान गरिएको थियो ।

फिनालेको पूर्व सन्ध्यासम्म आइपुग्दा प्रतिस्पर्धीहरूको मेहनत, समर्पण तथा उत्साहले कार्यक्रमलाई अझ भव्य र सफल बनाउने अपेक्षा आयोकज संस्गाको । आयोजक टिमका अनुसार यो सीजनले गुणस्तरीय प्रस्तुति, सशक्त व्यक्तित्व र प्रेरणादायी कथाहरू दर्शकसामु ल्याउने छ । मंगलवार हुने ग्राण्ड फिनालेमा दर्शकहरूले एक अत्यन्तै भव्य, आकर्षक र स्मरणीय शो अवलोकन गर्न पाउने अपेक्षा आयोजक संसथाको छ । मिसेस भोग नेपाल सीजन ३ ले नेपाली मञ्चमा महिला प्रतिभा, आत्मविश्वास र सौन्दर्यको सशक्त उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्