रास्वपा उम्मेदवारको सम्पर्क कार्यालय तोडफोड



काठमाडौं,९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । युवा संघ र एमालेको नारा लगाउँदै आएका केही युवाहरुले उक्त कार्यालय तोडफोड गरेको भिडियो यतिबेला भाईरल छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भोलिपल्टै तुलसीपुरस्थित सम्पर्क कार्यालय तोडफोड भएको घटनाक्रमले नेकपा एमालेमाथी शंका गरिएको छ ।

रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए । झण्डा जलाएको बिषयमा विवाद उत्पन्न भएकोले एमाले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनको भनाइ छ।

इलाका प्रहरी तुलसीपुरका डीएसपीले भने तोडफोड हुन नपाएको बताए । ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ । हामीले रोकेर ठूलो तोडफोड हुन दिएनौं’, डिएसपी होमबहादुर पराजुलीले भने, कसले गरेको भनेर खुलेको छैन ।’एमाले कार्यालयनजिकै भएकाले युवा संघले गरेको हुन सक्ने उनले बताए ।

यद्यपि प्रहरीले एमालेको झण्डामा आगनी गर्नेलाई समेत नियन्त्रणमा लिइसकेको छ । तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्