फेरि अर्का नेताले परित्याग गरे रास्वपा
काठमाडौं,९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि पार्टी परित्याग गरेका छन् ।

पछिल्लो समय रास्वपा नेताहरुले पार्टी परित्याग गर्ने क्रम बढी रहेका बेला २०७९ को निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार रहेका बिष्टले साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका हुन।उक्त निर्वाचनमा उनले सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गरेका थिए ।
पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।
यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
हालै मात्र रास्वपामाथि विभिन्न आरोप लगाउंदै मधेसकी संस्थापक सभापति ममता शर्मा,डा. प्रणय शमशेर राणा,रास्वपा निकटको प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक सभापति तथा हालका केन्द्रीय सदस्य डिल्ली पौडेलले पनि सो पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी परित्याग गरेका शर्मा र राणा कांग्रेसमा प्रवेश गरेका छन् ।
बिष्ट रास्वपाबाट कैलाली–५ मा उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

