राष्ट्रिय सभामा १८ नयाँ सदस्य निर्बाचित,एक जना मनोनीत गरिने



काठमाडौं,१२ माघ । राष्ट्रिय सभामा रिक्त १९ जनामध्ये भएको निर्वाचनबाट १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको बताएका छन् । कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुँदा सो प्रदेशमा एमालेबाट रोशनी मेचे र सोम पोर्तेल विजयी भएका छन् ।

मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, एमालेका रेखा झा र जनता समाजवादी पार्टीका महन्थ ठाकुर बिजयी भएका छन् । बागमती प्रदेशमा कांग्रेसका गीता देवकोटा र एमालेका प्रेम दंगाल विजयी हुँदा गण्डकी प्रदेशमा कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र एमालेका सम्झना देवकोटा विजयी भए ।

लुम्बिनी प्रदेशमा कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेका रामकुमारी झाक्री निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही, एमालेका मिना रखाल तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी विजयी भए । रिक्त एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्ष मतदाता छन् । स्थानीय तहको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार छ । केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदानमा उनीहरू सहभागी भएनन् । कोशीमा भने गठबन्धनका केही मतदाताले ‘क्रसभोट’ गरे ।

निर्वाचनमा कांग्रेस र एमालेले भागबण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । ती दलको समर्थनमा एक पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का ठाकुर पनि विजयी भए ।

प्रतिक्रिया दिनुहोस्