नाउपा नेपालका संरक्षक रेशम चौधरीको रेशम चौधरीको उम्मेदवारी रद्द
काठमाडौं, ८ मंसिर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

रेशम चौधरी वि.सं. २०७२ मा भएको टीकापुर घटनामा मुख्य दोषी ठहर भई अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति हुन्। यद्यपि उनले राष्ट्रपतिबाट आम माफी पाएका थिए, तर अदालतको फैसला बदर नभएको र दोषी ठहर भएको अवस्था कायमै रहेकाले उनी उम्मेदवार बन्न अयोग्य भएका हुन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने निर्वाचन आयोगले छलफल जारी राखेको जनाएको छ । थापा सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार छन् ।
आयोगमा परेका पाँच उजुरीमध्ये तीन वटा उजुरी भने खारेज भइसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेको उजुरी खारेज गरिएको हो ।
यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि निर्वाचन आयोगले खारेज गरेको छ । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवार छन् ।

