कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि गरे निर्बाचन नलड्ने घोषणा
काठमाडौं,५ माघ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आसन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमपछि उनले २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका थिए । तर उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने निर्णयमा पुगेको पुष्टि गरेको छ ।
‘पूर्ण दाइ चुनाव लड्नुहुन्न । तर, पार्टीको जितका लागि चुनावी प्रचार–प्रसारमा देशभर जानुहुन्छ,’ खड्कानिकट एक नेताले भने, ‘उहाँ पार्टीलाई जिताउन सक्रिय रूपमा लाग्नुहुनेछ ।’
खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा जुनसुकै फैसला आए पनि नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता आफू निकट नेताहरूसँग व्यक्त गरेका छन् ।

